प्रतिनिधि सभाको बैठक बस्दै, आजदेखि उपसभामुख निर्वाचनको प्रक्रिया शुरु हुँदै


३० असार २०७९, बिहीबार १०:४१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गर्नु भएको थियो ।

साथै हिजो बुधबारकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिनु भएको थियो । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने जानकारी गराउनुभएको हो । उहाँले निर्वाचनको कार्यक्रम प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको थियो ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । उपसभामुखको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ । यसैबीच सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here