काठमाडौँ । नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको बताउनुभएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले एक वर्षको बीचमा सरकारले गरेको एउटापनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पूरै असफल भएको बताउनुभएको हो । उहाँले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गर्नुभयो ।
त्यस्तै उहाले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाउनुभयो । मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गर्दै उहाले विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राख्नुभयो । सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उहाँले बताउनुभयो ।
अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको कुरा भएको पनि उल्लेख गर्नुभयो ।





