आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ति विविध कार्यक्रम गरि मनाइँदै


२९ असार २०७९, बुधबार ०६:१५ मा प्रकाशित

झापा । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ति आज देश तथा विदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’  प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषीलाई ठूलो गुण लगाउनुभएको थियो ।

उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो ।

वि.सं. १८७१ सालमा तनहुँको चुँदीरम्घा गाउँमा जन्मनु भएका भानुभक्तलाई ‘जन्मीएपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’,  भनी एक सामान्य घाँसीले अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो ।

यसैगरी उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । उहाँको निधन वि.सं.१९२५ साल असोजमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here