काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ ।
शुक्रबार काठमाडौं बसेको मुल आयोजक समितिको बैठकले राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको हो । समितिमा प्रशासकीय प्रमुख, परिषद्का सदस्य मध्यबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुखहरु र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुनेछन् । बैठकले आवश्यकता अनुसार बिभिन्न विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ ।
बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने स्पष्ट पार्नुभयो । प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता संचालन गर्ने उहाको भनाई छ । उहाले प्रतियोगीता लागि पूर्वाधार लगाएत अन्य तयारीमा कमि हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै बैठकमा राखेपका सदस्य सचिव घिसिङले प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिनुभयो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यस अघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो । तर विभिन्न कारण देखाउँदे प्रतियोगिता सारिएको थियो ।





