काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासंग संगै रहने र निर्वाचनमा भने भाग नलिने बताउनुभयो । उहाँले जनताका मुद्धाहरुलाई अघि बढाउनका लािग क्रान्तिकारी मोर्चाको बिषयमा छलफल गर्ने बताउनुभयो ।
त्यस्तै उहाँले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिनुभयो । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उहाँको भनाई छ ।
उहाँले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राख्नुभयो । उहाँले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाउनुभयो । राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केहि नेताले भन्ने गरेको आफुले सुनेको भन्दै उहाँले देशहित बिपरित काम गर्नेलाई प्रतिवन्ध नै लगाउने जिकिर गर्नुभयो ।
विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ती नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पार्नुभयो ।





