मेचीनगर । बेठी लगाएर धान रोपाइँ गर्ने परम्परा लोप हुँदै गइरहेको बेला बुधबार झापाको मेचीनगरमा बेठी लगाए धान रोपाइँ गरिएको छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । तर, झापाको मेचीनगरमा यसको संरक्षण गर्नुपर्छ भन्ने मान्यताका साथ रोपाइँ गरिएको हो । खेतका गरा नजीकै नौमती बाजा बजिरहेको छ । त्यही बाजाको धुनमा तालमा ताल मिलाएर रोपाहारहरु धान रोपिरहेका छन् ।
नेकपा एमाले निकट किसानहरुको संगठन अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले अखिल नेपाल किसान महासंघ मेचीनगर—१३ वडा कमिटीको व्यवस्थापनामा १९ औं राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीय प्रेमप्रसाद भट्टराईको ३ विगाह जग्गामा बेठीसहित रोपाइँको आयोजना गरेको थियो ।
असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेकाले यसलाई जिवन्त राख्नका लागि पनि कार्यक्रम आयोजना गरिएको अखिल किसान महासंघ मेचीनगर १३ वडा कमिटी अध्यक्ष जयनारायण दाहालको भनाई छ ।
हिलो आली पर्याप्त पानी पुग्ने खेत, धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । बुधबार यस्तै रौनक देखे झापा मेचीनगरवासीले । उस्वेला समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला न दिने र पमृ समेत नतिर्ने चलन थियो ।
रोपाइँ गर्न पुग्नुभएका मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाउने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । यसको संरक्षण आवश्यकता रहेकोले बेठीलाई संरक्षण गर्नुपर्ने मेचीनगर नगरपालिका प्रमुख बुढाथोको भनाई छ ।
परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।
सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुन नहुनेमा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको जोड रहेको छ ।





