सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न नेपाली शिक्षा परिषद्को माग


१५ असार २०७९, बुधबार १३:०२ मा प्रकाशित

 कामाण्डौ । नेपाली शिक्षा परिषद्ले सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा नलेखिनु संविधानको मर्म र भावना विपरीत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

परिषद्ले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटमा रोम लिपी प्रयोग गरिएको सन्दर्भमा ध्यानाकर्षण भएको भन्दै बुधबार प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

परिषद्का अनुसार यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई पत्रमार्फत यसबारे ध्यानाकर्षण गराइएको हो । ‘यातायातका साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा र सो रोमन लिपिमा लेखिने विषयमा हाम्रो विमति छैन तर त्यसमा प्रयोग हुने लिपि हालसम्म लेखिँदै आए अनुसार देवनागरी लिपि पनि रहनुपर्छ भन्ने नेपाली भाषा सम्वद्र्धनका निमित्त २००८ सालमा स्थापित तथा हालसम्म सोही उद्देश्यमा दृढ रहेर संस्थागत क्रियाकलाप अगाडि बढाइरहेको नेपाली शिक्षा परिषद्को जोडदार माग छ,’ परिषद्ले भनेको छ ।

सर्वसाधारण नेपालीले नेपाली भाषामा लेखिएको कुरा जसरी सहज बुझ्छन, विदेशी भाषामा मात्र लेखिएकोलाई त्यसरी बुझ्न सक्दैनन् भन्दै परिषद्ले यसले नेपालीको स्वाभिमानमाथि आघातसमेत पुग्ने प्रस्ट पारेको छ ।

स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रियतामा नै यसले प्रश्न चिह्न उठाउँछ,’ परिषद्ले लेखेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानले देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर स्पष्ट उल्लेख गरेको छ । नम्बर प्लेट नेपाली भाषामा नलेखिनु संविधानको मर्म र भावनाविपरीत हुन जान्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here