कनकाई नगरपालिका द्वारा ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रुपैया बराबरको बजेट प्रस्तुत


१० असार २०७९, शुक्रबार २०:१७ मा प्रकाशित

कनकाई । झापाको कनकाई नगरपालिकाले आ.व.२०७९÷८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको  बजेट प्रस्तुत गरेको छ ।

कनकाई नगरपालिकाको बजेट तथा निती कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख आशा शिवाकोटीले कनकाईको एघारौं नगर सभाको बैठकमा आ.व.२०७९÷८० कालागि पेश भएको वार्षिक बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख शिवाकोटीले कनकाईका नौ वटै वडाबाट छनौट हुने वडास्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बाँडफाँड हुने गरी जम्मा रु.९ करोड, ६ लाख, १३ हजार खर्च गर्ने गरी बजेट बिनियोजन गरेको बताइएको छ ।

नगरपालिका, संघीय तथा प्रदेश सरकारको स्रोत र राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, वित्तीय समानीकरण अनुदान, समपूरक तथा सशर्तमा उल्लेखीत कार्यक्रमका आधारमा तयार भएको बजेट कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले प्रस्तुत गर्नुभएको हो ।

बजेटले कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणकालागि समयअनुकुल प्रविधिको प्रयोग बढाएर आधुनिकीकरण, विशिष्टिकरण तथा व्यवासायीकरण तर्फ प्राथमिक्ता दिएको पाइन्छ । स्वास्थ्य र शिक्षाको गुणस्तर वृद्धि, गरीव—भूमिहीन तथा अशक्तमैत्री कार्यक्रमहरु संचालन गर्दै अघि बढ्नु बजेटको प्राथमिक्ता रहेको बताइएको छ ।

आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकास साथै भौतिक पूर्वाधारको निर्माण तथा स्तर उन्नतीकालागि बजेटले प्राथमिक्ता दिएको छ । संस्थागत क्षमता विकास, सेवा प्रभावमा प्रभावकारीता साथै सुशासनमा अभिवृद्धिकालागि बजेटले प्राथमिक्ता दिएको पाइन्छ ।

त्यसैगरी लक्षित तथा विपन्न वर्गको सशक्तिकरण ,सुरक्षित आवास साथै क्षमता विकासका कार्यहरु समेत बजेटको प्राथमिक्तामा परेको बताइएको छ ।बजेटको प्राथमिक्तामा पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास साथै विपद् व्यवस्थापन तथा वातावरण संरक्षण समेत रहेको छ । कनकाईमा औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि गर्ने साथै उज्यालो हरित नगरी निर्माणलाई प्राथमिक्तामा राखेको बताइएको छ ।

त्यस्तै मजदुर मैत्री एवम् वालमैत्री सुन्दर नगर निर्माण गर्ने कार्यलाई बजेटले प्राथमिक्तामा राखेको कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बताउँनुभएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्व एवम् नगर सभाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here