झापा । मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ ।
मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको जनाएको छ ।नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्ट प्रस्तुत गरीने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महोत्सवमा आयोजना गरीने यी खेलहरु नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी कुल ५१ वटा विद्यालयका करीव १ हजार ५ सय खेलाडीको सहभागिता हुने सदस्य मीनबहादुर बस्नेतले बताउनुभयो ।
करीव १० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति, झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने छ ।१५ गते मेचीनगर १३ स्थित चारआलीबाट म्याराथन प्रतियोगिताको उद्घाटनबाट शुरु महोत्सव २३ गते मेचीनगर १० धुलावारी माविको खेलमैदानमा समापन हुने छ ।





