काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिट्व्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउदै केहि नेताले पार्टी अध्यक्षलाई पत्र बुझाएपनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताउनुभएको हो । उहाँले शनिबार बस्ने बैठकमा यस बिषयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताउनुभयो ।
मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले सपथ हुन नसकेको उहाको भनाई छ । बैठकमा पार्टी अध्यक्ष नेपालले अवको निर्वाचनमा गठबन्धनबीच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिनुभएको प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँले बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र परिमार्जनसहित केन्द्रीय कमिटीमा पेश गर्ने जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ ।





