प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उ. वा. संघका अध्यक्ष शिवाकोटीसहित ११ जना रिहा


८ असार २०७९, बुधबार १९:५६ मा प्रकाशित

झापा । बुधबार दिउँसो प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जना बिर्तामोडका व्यापारी रिहा भएका छन्।

नियन्त्रणमा लिइएको ६ घण्टापछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिकाको गेटबाट बुधबार दिउँसो साँढे १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो।

बुधबार साँझ साँढे सात बजे उनीहरूलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो।

बिर्तामोडको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनका लागि नगरपालिकाको सिफारिस चाहियो भन्दै संघका अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षसहितको टोली विगत केही दिनदेखि आन्दोलित थियो।

बुधबार दिउँसो नगरपालिका गेटमा तैनाथ सुरक्षाकर्मीको घेरा तोड्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सहमतिका लागि नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल वार्तामा बसेका थिए।

एमाले अध्यक्ष कार्कीले असार १३ गतेदेखि मिटर उपलब्ध गराउने विषयमा प्रक्रिया थाल्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएको संघका पूर्व अध्यक्ष कुमार भट्टराईले बताउनुभयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here