बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष शिवाकोटी, बरिष्ठ उपाध्यक्ष न्यौपानेसहित ११ जना पक्राउ


८ असार २०७९, बुधबार १२:५४ मा प्रकाशित

झापा । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरका अनुसार ४ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरिएको हो।

अध्यक्ष शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष न्यौपानेसहितको टोलीले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा शिवाकोटी र न्यौपानेसहित सन्तोष उप्रेती, राधिका चुँडाल, तुलसा ढकाल, संगिता न्यौपाने, कल्पना पुरी, तुलसा तामाङ, एकता कँडरिया विष्ट लगायत छन्।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुर्व्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here