काठमाडौँ । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले आगामी बर्षको बजेट समाजवाद उन्मुख नभएको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाले बजेट समाजवाद उन्मुख नभएको भन्दै सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने वास्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो ।
मुलुकमा सबैभन्दा ठूलो उत्पादनको साधन कृषिबाहेक अरु कुनै हुन नसक्ने उहाले बताउनुभयो । आर्थिक, सामाजिक रुपान्तरणबाट समृद्ध समाजवाद निर्माण गर्ने कुरामा दृष्टिकोणको नै अभाव रहेको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेट अपर्याप्त छुट्ट्याइएको उल्लेख गर्दै उहाँले कार्यक्रम लागू हुनेमा नै आशङ्का व्यक्त गर्नुभयो ।
विनियोजन विधेयकमाथिको बिभिन्न शिर्षकमाथिको छलफलमा सांसद नन्दा चपाइँले बजेटले धेरै क्षेत्रका महिलाका विषय समेटिनु सकारात्मक भए पनि महिला मन्त्रालयले अध्ययन र अनुसन्धानलाई अघि बढाउनुपर्ने बताउनुभयो । सांसद देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कातिर भएको बताउनुभयो ।
सांसद खिमलाल देवकोटाले सङ्घीय सरकारले जस्तोसुकै योजना प्रदेश र स्थानीय तहमा पठाएर तलको लोड थपेको बताउनुभयो । मङ्गलबार बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विविध शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।





