बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा बिर्तामोडका व्यवसायी र नगरपालिकाका जनप्रतिनिधि तथा एमालेका नगर अध्यक्षबीच तनाव उत्पन्न भएको छ।
बुधबारे हटियाका ब्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै नगरपालिका पुगेका बिर्तामोड उद्योग वाणिज्य संघका केही पदाधिकारी र बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईं तथा एमाले अध्यक्ष सुवास भट्टराईबीच तनाव उत्पन्न भएको हो।
संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेबाट नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास भएको बताइएको छ । व्यापारीसहित नगरपालिका पुग्नुभएका संघका वरिष्ठ न्यौपानेले भट्टराईले नै पहिला आफूमाथि दुर्व्यवहार गरेको उल्टो आरोप लगाउनु भएको छ। बैठकबीचमै न्यौपाने उग्ररुपमा प्रस्तुत हुनुभएको थियो।
बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्वदलीय बैठकमा न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथि दुर्ब्यवहार र एमाले अध्यक्ष भट्टराईमाथी हातपातको प्रयास गर्नुभएको थियो।
विवाद चर्किँदै जाँदा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले व्यवसायीमाथि बल प्रयोग गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘हातपात भएको होइन। तनाव बढ्दै जाँदा सामान्य बल प्रयोग भने गरिएको हो।’

कुराकानी गर्ने क्रममा संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने उठेर जाइलाग्न खोजेको प्रत्यक्षदर्शीले बताएका छन्।
बुधबारे हटियामा नियम बिपरित बसेका ब्यापारीलाई मिटर दिने कुरा बृहत छलफल जरुरी भएको भन्दै नगरले छ्लफल प्रारम्भ गरेको थियो ।
मेयर प्रसाईले जग्गादातासमेत राखेर छलफल गर्न आवश्यक छ भनेपछी संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तुरुन्त जडान हुनुपर्ने माग राखेका थिए ।
हप्तामा एक दिन मात्रै बजार लगाउन दिइएको भन्दै अनारमनीका पूर्व अध्यक्ष हर्कलाल गिरीले ब्यक्तिको नाममा मिटर दिन नमिल्ने बताउनु भएको छ । उहाँले सो निर्णयमा जग्गादाताकोसमेत सल्लाह लिनुपर्ने बताउनु भयो ।





