एसपिपी सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन


३ असार २०७९, शुक्रबार १७:०१ मा प्रकाशित

काठमाडौँ । संसदीय समितिले एसपिपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपिपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्रचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले एसपीपीका बिषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृहसचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको सभापति पवित्रा निरौलाले जानकारी दिनुभयो । एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’ को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिएको सभापति निरौलाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here