प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने कार्यसूची


३० जेष्ठ २०७९, सोमबार ०७:१३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै छन् ।

आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । बैठक आज बिहान ११ बजे बस्ने छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ । त्यसपछि सरकारले खर्च गर्ने बाटो खुल्ने छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गर्नु भएको थियो ।

उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो । जेठ २३ गतेदेखि मन्त्रालयगत शीर्षकमा छलफल थालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here