काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन र प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाएको ताला पाँच महिनापछि बल्ल खुलेको छ ।
विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापकहरुको संगठनको नाममा उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाइएको ताला आइतबार खुलेको हो ।
तालाबन्दीका कारण विश्वविद्यालयका थुप्रै कामकारवाही प्रभावित भएपछि जनस्तरबाट चर्को आलोचना हुन थालेको थियो । उक्त विषयमा संसदमा साँसदहरुले पनि निरन्तर आवाज उठाउँदै आएका थिए ।
विश्वविद्यालयसँग आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिको ६ बुँदे सम्झौता भएपछि ताला खुलेको हो । विद्यार्थी संगठनले भने त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग कुराकानी गरेपछि ताला खोल्न सहमत भएका हुन् ।





