चोरी भएका दुई थान मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता


२५ जेष्ठ २०७९, बुधबार १७:०८ मा प्रकाशित

हरिवन । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले चोरी भएका दुईवटा मोटरसाइकल फेला पारेर मंगलबार सम्वन्धित धनीलाई फिर्ता गरेको छ ।

काठमाण्डौं उपत्यकाबाट चोरी गरी यस क्षेत्रमा ल्याएर चलाइएको मोटरसाइकल प्रहरीले बरामद गरेर धनीलाई नै फिर्ता गरेको हो । प्रदेश–०२–०३४ प १६८७ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल र प्रदेश –०२– ०१७ प ९५६२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल फेला पारेर सम्वन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

पल्सर मोटरसाइकल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ बस्ने राजेश बनमाला र एनएस मोटरसाइकल सर्लाहीको बरहथवा नगरपालिका ३ बस्ने राजेश विकको रहेको खुलेको छ । मंगलबार उनीहरुलाई कार्यालयमै बोलाएर हरिवन प्रहरीले मोटरसाइकल जिम्मा लगाएको हो ।

दुवै मोटरसाइकल चोरी भएपछि वास्तविक नम्बर प्लेट हटाएर नक्कली नम्बर प्लेट हाली चलाइएको पाइएको छ । सवारी चेकजाँचका क्रममा ति मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताउनु भयो ।

चोरीको मोटरसाइकल चलाउनेहरुले कहीँकतै चेकिङमा पर्दा कागजात देखाउन सक्दैनन् र कागजात लिएर आउँछु भनी घर गएपनि पछि फर्किएर नआउने गरेको प्रहरीले जनाएको छ । हरिवन प्रहरीले पटक–पटक गरी त्यस्ता दर्जनौँ मोटरसाइकल बरामद गरी सम्वन्धित धनीलाई फिर्ता गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here