झापाबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोह प्रहरी नियन्त्रणमा, १२ वटा चोरीका मोटरसाइकल बरामद


१९ जेष्ठ २०७९, बिहीबार १५:४७ मा प्रकाशित

झापा । झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का १८ बर्षिय करण मण्डल, बिर्तामोड ३ का १९ बर्षिय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ बर्षिय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ बर्षिय करण महमद, गौरीगञ्ज गाउँपालिका ५ का ओमप्रकाश यादव, एक जना १४ बर्षिय बालक, इलाम चुलाचुलीका १८ बर्षिय राहुल श्रेष्ठ र अर्का एक १५ बर्षिय बालक रहेका छन्।

प्रहरीले झापाका बिर्तामोड, सुरुंगा, अर्जुनधारा, बुधबारेलगायत स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकलसमेत बरामद गरेको छ।

बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका मोटरसाइकल चोरी गर्ने ८ जना र बरामद मोटरसाइकल सार्वजनिक गरेको हो।

मोटरसाइकल चोरी गर्नेमा ग्यारेज सञ्चालकसमेत रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो।

मोटरसाइकल चोरी गरेर पहाडका विभिन्न स्थानमा लैजाने पनि गरिएको प्रहरीको भनाइ छ। चोरी गरेर मोटरसाइकलको नम्बर फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाएर सडकमा सञ्चालन गर्ने गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनु भयो।

प्रहरीका अनुसार मध्य रातको समयमा मोटरसाइकल हुने गरेको छ। चोरीका घटना बढेपछि प्रहरीले घटनामा संलग्नलाई खोज्न विशेष अभियान नै सञ्चालन गरिरहेको छ। उजुरी अनुसार चोरी भएका केही मोटरसाइकल बरामद गर्न तथा चोरीमा संलग्नलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here