बाँके । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।
प्रहरीले स्थीति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
२०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए ।
तर सालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड भएको छ ।
सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो ।
धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनु भयो ।





