विराटनगर । सुर्तीजन्य पदार्थको सेवन गरेकै कारण बर्षेनी नेपालमा २५ हजार मानिसको मृत्यू हुने गरेको छ भने विश्वमा प्रति ८ सेकेण्डमा एकजनाको मृत्यू हुने गरेको छ ।
सुर्तीजन्य पदार्थ रहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखले आयोजना गरेको कार्यक्रममा सो सम्बन्धि तथ्यांक प्रस्तुत गर्नुहुँदै स्वास्थ्य महाशाखाका अमरदिप देवले धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थय मन्त्रालयको तथ्यांकमा देखिएको बताउनुभयो ।
महानगरको स्वास्थय महाशाखा प्रमुख रमेश कार्कीले नसर्ने रोगहरु मधुमेह,हृदयाघात,मस्तिष्क घात र क्यान्सर लाग्नुमा सुर्तीजन्य पदार्थको सेवन प्रमुख कारण रहेको बताउनुभयो ।
फोक्सोको क्यान्सरबाट मृत्यू भएका मानिसहरु मध्ये ७१ प्रतिसतको मृत्यूको कारण धुम्रपानको सेवन रहेको उहाँले बताउनुभयो ।
अन्तरक्रियात्मक सो कार्यक्रममा सहभागि वक्ताहरुले महानगरक्षेत्रभित्रका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य र धुम्रपानको प्रयोग बढदो रहेकाले त्यसलाई नियन्त्रण न्युनिकरणगर्न महानगरपालिकाले बिशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका थिए ।
सहभागिले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीले सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण ऐन २०६८ लाई प्रभावकारीरुपमा कार्यान्वय गरिनुका सचेतनामुलक प्रचारप्रसार र अनुगमनलाई तीब्र बनाईने बताउनुभयो ।
१५ बर्षदेखी ४० बर्ष उमेर समुहका ब्यक्तीले बढीजसो सुर्तीजन्य पदार्थ सेवन तथा धुम्रपान गर्ने गरेको कार्यक्रममा बताइएको थियो ।





