निजगढ विमानस्थल नबनाउन सर्वोच्चले आदेश दिएपछि मन्त्री आलेले थाल्नुभयो छलफल


१४ जेष्ठ २०७९, शनिबार १८:०४ मा प्रकाशित

काठमाडौं । सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी सरकारले गरेका सबै निणर्य बदर गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिर्ष नेताहरुसहित बिज्ञ तथा सरोकारवालाहरुसंग परामर्श गर्नुभएको छ ।

शनिबार मन्त्रालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सरोकारवाला निकायका प्रमुख तथा बिज्ञहरुको सहभागीता रहेको थियो ।

छलफलका क्रममा उनीहरुले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने फैसला अप्रत्याशित तथा अनौठो रहेको धारणा राखेका थिए भने बिज्ञहरुले यस बिषयमा आदेशको पूणर्पाठ आएपछि मात्रै थप निचोडमा पुग्न सकिने बताएका थिए ।

छलफलपछि पूर्व पर्यटन सचिव एवं विज्ञ विरेन्द्र बहादुर देउजाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने निणर्यमा छलफल भएको र सर्वोच्चको आदेशले बिकास निर्माण नै रोकिने अवस्था आएको बताउनुभयो । सर्वोच्चको आदेशको पाठ आएपछिमात्रै यस बिषयमा थप छलफल गर्नु आवश्यक रहेको उहाको भनाइ छ ।

आर्थिक वर्ष २०७१/७२ बाट शुरू गरिएको यो आयोजनामा सरकारले करीब डेढ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यसअघि माओवादी अध्यक्ष प्रचण्डले सदनमा निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाको पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभएको थियो भने समाजवादीका अध्यक्ष नेपालले सर्वोच्चको आदेश गलत भएको बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here