शनिबार बन्द गर्नु पर्नेमा बिर्तामोडका व्यवसायीहरुको जोड


१४ जेष्ठ २०७९, शनिबार १४:४६ मा प्रकाशित

झापा । बिर्तामोड बजारलाई शनिबार बन्द गर्नु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । साप्ताहिकरुपमा हुने वन्दको विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले सरकारी विदाको दिन शनिबार नै बन्द गर्नु पर्ने धारणा राखेका हुन् ।
यस अघि बिर्तामोड सोमबार बन्द हुँदै आएपनि प्रभावकारी हुन नसकेको भन्दै शनिबार बन्दको चर्चा चल्दै आएको हो ।
कार्यक्रममा बोल्दै नेपाल अलैँचि व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले साप्ताहिक बन्द शनिबार हुनु पर्ने बताउनु भयो । बैंक,वित्तिय कारोवारका हिसावले शनिबार कुनै पनि कारोवार नहुने भएकोहुँदा यस दिन व्यवसायीहरुको लागि उपयुक्त भएको धारणा राख्नु भयो ।

यस्तै नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष तथा युवा व्यवसायी सुवास भट्टराईले सुरक्षाको व्यवस्था गरेर राती १० बजेसम्म बजार खोल्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । स्थानीय सरकार,प्रहरी,प्रशासनसंग समन्वय गरेर नीजि क्षेत्रले सुरक्षित वातावरण बनाउनु पर्ने उहाँको भनाई छ । सामाजिक अगुवा,राजनीतिक दल,उद्योगी,व्यवसायीहरु लाग्नसके रातीको समयमा कर्मचारीहरु बाहिर आउन जानसक्ने व्यवस्थाको लागि नगर वस सञ्चालन गर्न सकिने पनि उहाँले बताउनु भयो । शनिबार बन्द गर्न उपयुक्त रहेको भएपनि व्यवसायीहरुलाई बन्द गर्ने र खोल्ने दिनको बाध्यकारी अवस्था सृजना गर्न नहुने भट्टराईको धारणा छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले व्यवहारिकरुपमा शनिबार बन्द गर्नु उचित रहेको धारणा राख्नु भयो । कसैैले हप्तामा सात दिननै पसल खोल्न चाहे पनि दिने व्यवस्था गर्नु पर्ने भन्दै उहाँले नेपाल सरकारले पनि हप्तामा १ दिन शनिबारमात्र बिदाको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

अन्तक्रिया कार्यक्रममा हार्डवेयर व्यवसायी संघका मातृका कोइराला,नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष सन्तोष अग्रवाल,पुस्तक व्यवसायी संजय शर्मा सापकोटा, व्यवसायी राजेन्द्रकुमार थापा,शंकर ढुङ्गेल,याम विमली,उपेन्द्र वानिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोडका अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमलाई संस्थाकी सचिव गोमा भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here