दैलेख । दैलेखको आठबिस नगरपालिका वडा नं २ सिस्नेमा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार राती दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।
डीएसपी साहका अनुसार दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको डीएसपी साहले बताउनु भयो ।
बसमा कुल ६२ जना यात्रु रहेको खुल्न आएको र तीमध्ये ३९ जना घाइते रहेको डीएसपी साहले बताउनु भयो ।
सामान्यदेखि गम्भीर घाइते भएका बसमा सवार ३९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बस राजमार्गबाट ४० मिटर तल कर्णाली नदीमा खसेको छ।
‘प्रारम्भिक अनुसन्धान र चालकको भनाई अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना हुन पुगेको भन्ने खुल्न आएको छ । दैलेख प्रहरी प्रमुख डीएसपी साहका अनुसार ‘घटनाको विस्तृत अनुसन्धान भई रहेकोे बताउनु भयो ।





