चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नु भएको छ ।
महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निशुल्क र एक लाख रुपैयाँ बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गर्नु भएको छ ।
दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने उहाँले बताउनु भयो ।
महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निः शुल्क खानेपानी पाउने नगरप्रमुख दाहालले बताउनु भयो । यसका लागि वार्षिक दुई करोड ५० लाख रुपैयाँ हाराहारी खर्च हुने महानगरको अनुमान छ ।
महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ ।
महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएको महानगर ले जनाएको छ ।
महानगरले गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाख रुपैयाँको जीवन बिमा गरिने भएको छ ।
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।
राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक तीन हजार ३०० रुपैयाँ महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले एक लाख रुपैयाँ पाउने गरी बिमा गर्न लागिएको हो ।
अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।
पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने महानगरपालिकाको रुपमा विकास गराउने आफनो लक्ष्य रहेको मेयर दाहालले बताउनु भयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताउनु भयो ।





