झापा । मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभाव पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँले एउटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ ।
भाँडाकुँडा, प्याष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधवार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित बुधकरण चिया बगानको १० क्वाटरमा तर्फ गएका थिए ।
बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामाग्री ट्याक्टरमा हालेर लगेको स्थानीयवासी बताउँछन् । त्यसपछि स्थानीयले सामग्री बाँड्न अघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगायो ।
ट्याक्टर चालकलाई सोधपुछ गर्दा सो सामग्री राजनीतिक दलका उम्मेदवारले बगानतर्फ पठाएको उपस्थिति गाउँले समक्ष उनले स्वीकार गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले मतदातालाई बाँड्न लगिएको सामग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको विषयमा केही जानकारी नआएको बताउनु भयो । नियन्त्रणमा लिएका सामग्री प्रहरी कार्यालयमा अहिलेसम्म आइनपुगेको उहाँको भनाइ छ ।





