नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने


२९ बैशाख २०७९, बिहीबार ०७:१४ मा प्रकाशित

काठमाडाैँ । नयाँ मतदाताले बिहीबार पनि मतदाता परिचयपत्र पाउने भएका छन्।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई हिजाे (बुधबार)बाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार परिचयपत्र वितरण गरिसकिनेछ। उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ।

देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन्।

वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ। यो अधिकारको प्रयोग गर्न भाेलि हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ।

शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ।

मतदाता नामावलीमा नाम समावेश भएकाले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउनेछन् । तर त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता भएकाे हुनुपर्नेछ।

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयाेगले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here