झापा । हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा व्यस्त रहनु भएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसंगै नेकपा एमालेले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा ‘तक्मे बुढा’ले प्रस्तुती दिँदै आउनु भएको हो । उहाँले खुलेरै एमालेका उम्मेदवारहरुलाई भोट माग्दै आउनु भएको छ ।
केहि दिन अघि देखि अर्जुनधारा नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदको उम्मेदवार बलदेव गोम्देन तामाङको चुनावी कोणसभामा प्रस्तुती दिँदै आउनु भएका ‘तक्मे बुढा’ले आइतबार र सोमबार बिर्तामोडको चुनावी कोणसभामा प्रस्तुती दिनु भयो । उहाँले बिर्तामोडमा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित सबैलाई मत दिएर जिताउन आग्रह गर्नु भयो ।
तक्मे बुढाले ‘उपमेयर हुँदा काम गरिन फेयर,यसपालीको चुनावमा पवित्रालाई बनाउनु पर्छ मेयर’भन्ने गीत मार्फत पनि भोटको अपील गर्नु भएको थियो । ‘तक्मे बुढा’ले भोट के मा ? भनेर नारा लगाउँदा सयौँको संख्यामा भेला भएकाहरुले सूर्यमा भनेर थपेका थिए ।
हाँस्य कलाकार तक्मे बुढाले आइतबार बिर्तामोडको हर्चना र आज वडा नम्बर ९को कञ्चनटोलमा प्रस्तुती दिनु भएको हो । बिर्तामोड कलाकार तक्मे बुढाको गृहनगर पनि हो ।





