झापामा भयरहित र स्वच्छ निर्वाचनका लागि नागरिक समाजको ११ बुँदे अपिल


२६ बैशाख २०७९, सोमबार १४:४० मा प्रकाशित

बिर्तामोडमा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले  सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् ।

नागरिक अगुवा संस्थाका प्रतिनिधिको सोमबार बिर्तामोडमा सम्पन्न वैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल जारी गरिएको जनाइएको छ ।

निर्वाचन सम्पन्न गर्न नागरिक समाजको पनि अहम भूमिकाको आवश्यकतालाई आत्मसात र दायित्वबोध गर्दै निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता नागरिक तहबाट व्यक्त गरिएको छ ।

 राजनीतिक दल तथा उम्मेद्वारहरुबाट आचारसंहिताको उल्लंघन भइरहेका विषयप्रति चिन्ता र सरोकारवालाको ध्यानाकर्षण गर्दै नागरिक समाजका प्रतिनिधिले अपिलमा उल्लेखित विषयको पालना र व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा भएको वैठकमा सरकारी–गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट  ध्यानाकर्षण गराइएको छ ।

वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १३ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन ।

अपिलमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक झापाका संयोजक डा.रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, नेपाल बार एसोसिएसन झापाका अध्यक्ष हरिप्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here