लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका–४ मा राँगाले हान्दा एक जनाको ज्यान गएको छ । आफैँले पालेको राँगाले हान्दा ४४ वर्षीय खुमबहादुर मौरतीको ज्यान गएको हो ।
राँगाले हानेर गम्भीर घाइते भएका उहाँको बेसीसहरमा रहेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राँगाले शनिवार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई हानेर घाइते बनाएको थियो ।
रविनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगालाई गोली हानेर मारेको छ । आफैँले पालेको राँगाले केही नगर्ला भनेर समात्न जाँदा घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।





