जुम्लामा चुनावको सुरक्षाका लागि १७ सय २१ सुरक्षाकर्मी परिचालन गरिने


२६ बैशाख २०७९, सोमबार १२:५३ मा प्रकाशित

जुम्ला । जुम्लामा चुनावको सुरक्षाका लागि एक हजार सात सय २१ सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।
यही वैशाख ३० गते हुने पालिकाको चुनावलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउन लागि आवश्यक सुरक्षाकर्मी परीचालनमा थप घट गर्न सकिने सुरक्षा परीषदले जनाएको छ ।
चुनाव सुरक्षामा नेपाल प्रहरी ४ सय ३२ ,नेपाली सेना ३ सय ५०, सशस्त्र प्रहरी दुई सय ७० र ६ सय ६९ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन गरेर तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भयो ।

चुनाव सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । चुनावको सुरक्षा चुनौती आकंलन गर्दै चारै वटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन ।

चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइँले बताउनुभयो ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै पालिकामा नेपाली सेना परिचालन भएको बताउनु भयो ।उहाँले चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागि कुनै पनि कसर बाँकी नराखि काम गर्ने बताउनुभयो । चुनावको सुरक्षाका लागि तीन वटा सुरक्षा टोली नै परिचालन गरिएको र अनुगमन समेत भएको बताउनु भयो ।त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गराउने विषयमा जिल्लामा रहेका सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताउनु भयो । उहाँले भन्नुभयो,‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने अवस्था तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ।

भौगोलिक हिसाबले विकट ठाउँमा रहेका मतदान स्थल, हुन सक्ने झडप, भिडभाड लगायतको अवस्थालाई आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्र विशेष योजना बनाएरै अगाडि बढेको दाहालले बताउनु भयो । चुनावको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग रहने उहाँले बताउनुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालयले मातहतका सबै कर्मचारी र म्यादी प्रहरीलाई चुनाव सुरक्षा अनुशिक्षण तालिम दिएर पठाएको छ । प्रहरी नायब उपरीक्षक चन्दका अनुसार चुनाव स्वच्छ, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीलाई तालिम प्रदान गरिएको हो।

यसैगरी चुनावमा २०४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ४९६ जना कर्मचारी समेत मुख्य चुनाव कार्यालयमा खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here