काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका लागि जनताभन्दा ठूला अरु काेही नभएकाे बताउनुभएकाे छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे सन्दर्भमा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘एमालेका लागि जनता भन्दा ठूला अरू कोही छैनन्, जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो ।’
एमालेकाे शक्तिकाे स्राेत जनता भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो, तसर्थ हामी जनताका बीचमा रहन चाहन्छौं, जनादेशबाट मात्र जनताको सेवा गर्ने अवसरका लागि प्रयत्नशील रहन्छौं, जनताको आदेश मान्छौं, यसपटक पनि जनताबाट जनताको सेवा गर्ने अवसर हामीलाई प्राप्त हुनेमा विश्वस्त छौं ।’
अब कम्तिमा दुई अवधि (पाँच–पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाब्क्षा पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि उहाँले सबैमा अपिल गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘गठबन्धन बनाउनका लागि जनताको मत चाहिँदैन, जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिन्छ, त्यो युग एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्दछ,अर्को पाँच वर्षमा हामी प्राप्त उपलब्धिलाई दिगो बनाई थप उत्कृष्ट र नवीन बनाउने सुनिश्चित गर्दछौं ।’
एमालेलाई मत दिन आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिन्हमा मतदान गरौं ।’
नयाँ मतदातालाई पनि उहाँले एमालेमै भाेट दिन आग्रह गर्नुभयाे । ‘नयाँ मतदाताहरूलाई म आग्रह गर्न चाहन्छु, हामी तपाइँहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिने छैनौं,तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ, तसर्थ, आउनुहोस्, जीवनको पहिलो मतदान सूर्य चिन्हमा गरौं र विकासको नयाँ युगमा प्रवेश गरौं ।’





