काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मक रुपमा बढी मतदाता भएका र सुरक्षालगायत दृष्टिले संवेदनशील मानिने विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ।
निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइको हो।
टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ।
उक्त दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउने सक्ने व्यवस्था गरिएको छ।





