झापा । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पुनः झापा जिल्ला लाल किल्ला बन्ने बताउनु भएको छ।
नेकपा एमाले झापाका लागि नयाँ पार्टी नभएकाले एमाले सानदार बहुमतका साथ विजय हुने ओलीले बताउनु भयो।
झापाको बिर्तामोडमा मंगलबार आयोजित चुनावी अभियान सभामा बोल्दै एमाले अध्यक्ष ओलीले अपवाद बाहेक झापा पुनः लाल किल्ला बन्ने दाबी गर्नुभयो।
झापा आन्दोलनबाट नेपालमा बढेको बामपन्थी आन्दोलनले राजनीतिक आमूल परिवर्तन भएको उहाँले बताउनु भयो।
अनेक उतारचढाव झेल्दै भए पनि नेकपा एमाले अहिले नेपालकै सबभन्दा बलियो शक्तिको रुपमा स्थापित भएको उहाँको भनाइ थियो।
बिर्तामोडमा आयोजित सभा अघि ओलीले झापाको भद्रपुर, हल्दीबारी तथा मेचीनगरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नु भएको थियो।
हल्दीबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले बुढाबुढीको संरक्षण गर्ने पार्टी एमाले मात्र भएको बताउनु भयो।
एमाले अध्यक्ष ओलीले बुढाबुढी संरक्षण एमालेले मात्र गर्नसक्ने बताउनु भयो।
एमाले आयो भने विकास हुँदैन भन्नेहरूले एमालेले गरेको विकासका काम हेरे पुग्ने ओलीले बताउनु भयो।
सडक बनाउनदेखि अनेकौं संरचना एमालेकै सरकारका बेला बनाइएको उहाँको दाबी थियो। नेकपा एमालेका प्रतिनिधिहरू विकासका अभियन्ता भएको ओलीले बताउनु भयो।
विर्तामोडमा आयोजित कार्यक्रममा नेता सुवास नेम्बाङले सबैतिरबाट षडयन्त्र भए पनि एमालेलाई कुनै असर नगर्ने बताउनु भयो। एमालेका विगतका सरकारले अरु दलका सरकारले गर्न नसकेको काम गरेर देखाएको बताउनु भयो। राज्यका अंगहरूमा एमालेकै नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको नेम्बाङले बताउनु भयो।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चारैतिरबाट आक्रमण भए पनि ओली ढलपल नहुनु भएको नेम्बाङको भनाइ थियो। केपी ओली नै नेपालीहरूको सच्चा नेता भएको दाबी उहाँको थियो। छिमेकी मुलुकका राजनीतिकर्मीहरूसंग आँखा जुधाएर बोल्नसक्ने क्षमता ओलीमा मात्र भएको उहाँले बताउनु भयो।





