झापा । नेपाली कांग्रेसको प्रदेश १ समितिले गरेको उम्मेदवार सिफारिस केन्द्रीय सभापतिले उल्टाइदिएपछि झापाको मेचीनगर नगरपालिकाका लागि प्रमुख पदको उम्मेदवारीमा विवाद उत्पन्न भएको छ।
प्रदेश समितिले कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलाई सिफारिस गरे पनि पार्टीका केन्द्रीय सभापतिले इन्द्र बुढाथोकीको नाम सिफारिस गरेपछि मनोनयन पत्र दर्ता गर्न पुग्नु भएका पाण्डे उसै फर्कनु भएको छ।
केन्द्रको पत्र प्राप्त हुनसाथ बुढाथोकीले प्रमुख पदका लागि मनोनयन पत्र दर्ता गराउनु भएको छ।
मनोनयन पत्र दर्ता गर्न नपाउनु भएका पाण्डेले भन्नु भयो, ‘पार्टीको प्रदेश समितिले मेरो नाम सिफारिस गर्यो। तर पार्टी सभापतिले हस्तक्षेप गरेर अर्कै नाम हालिदिएपछि म हिँडे।’
पार्टीले आफ्नो नाम सिफारिस नगरे पनि स्वतन्त्र उम्मेदवारी भने नदिने पाण्डेले बताउनु भयो।





