प्रदेश १ मा सत्ता गठबन्धनसँग राप्रपाको तालमेल


४ बैशाख २०७९, आईतवार १२:१६ मा प्रकाशित

विराटनगर । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो ।

प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो ।

गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।

ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको बताए ।

‘गठबन्धन गर्दा अनिवार्य हुन्छ, आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘छलफल जारी छ ।’स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए ।

राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here