झापामा म्यादी प्रहरीमा माग भन्दा तेब्बर बढीको आवेदन, भर्ना प्रक्रिया शुरु (तस्वीरहरू)


१६ चैत्र २०७८, बुधबार १३:१८ मा प्रकाशित

झापा, १६ चैत । स्थानीय तहको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै म्यादी प्रहरीमा माग भन्दा तेब्बर बढी मानिसहरूले भर्नाका लागि निवेदन दिएका छन्।

निर्वाचनका लागि झापाको सुरक्षामा थप मदत पुग्ने हिसाबले निवेदन माग गरिएकोमा माग भन्दा तेब्बर बढी मानिसहरूले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गत चैत १२ गतेदेखि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरूको छनोट प्रक्रिया अहिले जिल्ला प्रहरी कार्यालय झापामा भइरहेको छ।

४० दिनका लागि म्यादी प्रहरीमा भर्ना गरिने जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘माग भन्दा धेरै बढीले निवेदन दिनु भएको छ। सूचनामा १८ बर्षदेखि ५४ बर्षसम्मका नागरिकलाई आवेदन माग गरिएकोमा त्यो भन्दा धेरै उमेरका पनि निवेदन लिएर आउनु भएको थियो।’

देशमा व्याप्त बेरोजगारी समस्याका कारण पनि थोरै समयका लागि आम्दानीको स्रोत बढाउन म्यादी प्रहरीमा मानिसहरूको आकर्षण बढेको हो।

आगामी बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। सोही निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुल्ला गरेको थियो।

म्यादी प्रहरीमा भर्ना हुन आउनेहरू निकै उत्साहित देखिएका छन्। उनीहरूले देशको सेवा गर्न म्यादी प्रहरीमा भर्ना हुन आएको बताए।

झापा काँकरभिट्टाकी बासिन्दा कविता सिग्देल घिमिरे पनि म्यादी प्रहरीमा भर्ना हुन लामबद्ध हुनुहुन्थ्यो। उहाँले देशको सेवा गर्नका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘देशमा राम्रो होस्। देशको सुरक्षा गर्नका लागि आएको हुँ। गर्न सकिन्छ/सकिँदैन, हिम्मत हारिँदैन।’

झापा गौरीगञ्जका अमृत गिरीले सेवा गर्नका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘रमाइलो लागिरहेको छ। समाजको सेवा गर्न सकिन्छ कि भनेर आएको हुँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here