झापा गोल्डकप : सातदोबाटोको विजयी सुरूआत


२१ फाल्गुन २०७८, शनिबार २०:१६ मा प्रकाशित

बिर्तामोड । पाँचौं झापा गोल्डकपको उद्घाटन खेलमा ‘ए’ डिभिजन जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै समान हैसियतको अर्को सातदोबाटो युथ क्लबले विजयी सुरूआत गरेको छ ।

निर्धारित समयमा २–२ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि टाइब्रेकरमा गएको थियो। सातदोबाटोले टाइब्रेकरमा ४–२ को जित हासिल गरेको हो।

सातदोबाटोको जितमा गोलरक्षक अभिषेक बराल नायक बने। बरालले जावलाखेलको एउटा प्रहार बचाए।

टाइब्रेकरमा सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र फ्लोनले गोल गरे।

जावलाखेलको लागि जुनियर र सुरजजियु ठकुरीले मात्र गोल गर्ने सके। राजेन्द्र रावलको प्रहार सातदोबाटोका किपर अभिषेक बरालले रोके। जावलाखेलको एक प्रहार पोष्ट बाहिर गएको थियो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं संस्करणको झापा गोल्डकपमा झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन्। भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किमले पनि पाँचौं संस्करणको झापा गोल्डकप खेल्नेछन्।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन्। पाँचौं संस्करणको झापा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन्। आईतबारको खेल नेपाल पुलिस र संकटाबीच हुने आयोजक समितिले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here