प्रमुख प्रशासकीय अधिकृतसहित बिर्तामोडका तीन कर्मचारीको विदाई


२६ पुष २०७८, सोमबार २२:०८ मा प्रकाशित

बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहित ३ जना कर्मचारीको विदाई गरेको छ ।नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,सेवा निवृत भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत भएकी सिनियर अनमी रितादेवी दाहाललाई सम्मानसहित विदाई गरिएको हो । विदाई हुने कर्मचारीहरुलाई नगरप्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवी महातारा प्रसाईले दोसल्ला ओढाएर सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए । यस्तै विभिन्न वडाका वडाध्यक्ष,वडासदस्य तथा कर्मचारीहरुले खादा , माला र अविर लगाइदिएर विदाई गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले विदाई भएर जानेहरुलाई आगामी दिनको शुभकामना व्यक्त गरे । उनले प्रमुख प्रशासकीय अधिकृत दाहाल विधि र पद्धतिको ख्याल गर्ने कुशल नेतृत्वका धनी रहेको भन्दै उच्च प्रशंसा समेत गरे । यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख प्रसाईले प्रमुख प्रशासकीय अधिकृत दाहाल नीतिगत र सुशासनको पक्षमा अव्वल रहेको धारणा राखिन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारीबीचको सन्तुलन राम्रो रहेको उल्लेख गरे । आफूले २०६१ सादेखि स्थानीय तहमा काम गर्दै आएको भन्दै उनले अन्य पालिकाभन्दा बिर्तामोड पृथक रहेको बताए । जनप्रशासन र विकास प्रशासनमा आवद्व रहेका २ वटा पाटाहरु पुग्ने एउटै गन्तव्य जनतालाई सेवा सुविधा प्रदान गर्नु नै रहेको उनको धारणा थियो ।

यस्तै सेवा निवृत भएर विदा भएका शाखा अधिकृत कार्कीले आफू कार्यरत रहँदा सबै क्षेत्रबाट सकारात्मक सहयोग मिलेको बताए । पेशागत महासंघको स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले देशमा राजनीतिक परिवर्तनका लागि राष्ट्रसेवकहरुको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा वडा नम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , वडा नम्बर ९ की वडाध्यक्ष पवित्रा पाठकले शुभकामना मन्तव्य राखेका थिए ।नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले स्वागत तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here