अत्यधिक चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको ज्यान गयो


२१ पुष २०७८, बुधबार १२:१६ मा प्रकाशित

जनकपुर, पुस २१ । केही दिनयतादेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर ज्यान गएको छ ।

ज्यान जानेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनु भयो ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताउनु भयो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।

चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here