मेचीनगर, २२ पुस । झापाको मेचीनगर नगरपालिका—७ मा बुधबार राति भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आगलागीका कारण कतिको क्षति भयो घरधनी नभएका कारण सो वारे स्थानीय प्रशासनले केही बताउन सकेको छैन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार मेचीनगर —७ पिपल चौकका केशव पाठकको घरमा राति ९ बजेर २० मिनेटमा भएको आगलागी नियन्त्रणका क्रममा घरमा रहेको खाना पकाउने ग्यास पड्किएर थुप्रै घाइते भएका थिए । घाइते मध्ये झापा मेचीनगर —८ बस्ने वर्ष ४५ को शारद राजवंशीको उपचारका क्रममा लगिएको थियो । उपचारका लागि धुलावारीमा रहेको एञ्जल मेडिकलमा पुर्याए पनि उनको मृत्यु भएको स्थानीय प्रशासनले बताएको छ ।
टिनको छानो र चित्राको बेरा भएको एकतले घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दैं आउका थिए । घटना भएका बखत घरमा कोहि पनि नभएका कारण आगलागीका कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो । आगो झण्डै एकघण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी मेचीनगर नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालको कमाण्डमा २४ जनाको टोली खटिएको थियो ।
घटनामा परेर घाइते भएकाहरु मेचीनगर —८ का ४० वर्षीय लेखनाथ तिमल्सिना बिर्तामोड— ९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर—७ का ३२ वर्षीय दिपेन्द्र कार्की, मेचीनगर —७ का ३८ वर्षीय चन्दन गौतम, मेचीनगर —७ का ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा,४० वर्षीय भवानी शंकर न्यौपाने, मेचीनगर —८ का ३४ वर्षीय हरि विक, ३६ वर्षीय निर्मल शर्मा छन् । सवैको विर्तिामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सवैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । मेचीनगर— ८ का अर्जुन अधिकारीकी छोरी ८ वर्षीया सुशीला अधिकारीको भने स्थानीय साइ सुमिरन मेडिकल हल ईटाभट्टामा उपचार भएको छ ।





