बिर्तामोड । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ ले एम्बुलेन्स सेवा अभियान कार्यक्रम २०७८ मा सहभागि चलचित्रकर्मीहरुलाई नगद सहित सम्मान गरेको छ ।
संघले आज शुक्रबार झापाको बिर्तामोड स्थित होटल हिकोला हेरीटेजमा एक कार्यक्रमकाबिच एम्बुलेन्स खरिदकालागि सञ्चालन गरेको देउसी भैलो कार्यक्रम २०७८मा सहभागि कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गरेको हो ।
सम्मानित हुने कलाकारहरु चन्दा दाहाल,मुना प्रसाई,विमल तामाङ (रुम्वा),राज न्यौपाने,सोनिका राजवंशी,वादल विश्वकर्मा,तिलक श्रेष्ठ,दिया श्रेष्ठ,विनय पाँचकोटी,प्रजल्ता शंकर,महेश श्रेष्ठ,सपना शाह,राकेश कमेडी र विशाल रसाईली रहेका छन् ।
सहभागि कलाकार तथा चलचित्रकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सम्मानपत्र प्रदान गर्नु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै संघले थालेको अभियान प्रशंसनीय र मानव सेवाकालागि पबित्र कार्य भएको भन्दै संघलाई धन्यबाद प्रकट गर्नु भयो । साथै उहाँले संघले थालेको एम्बुलेन्स खरिद कार्यमा अस्पतालले सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
संघले प्रदेश नम्बर १ मा प्राकृतिक चलचित्र स्टुडियो निमार्ण गर्ने र चलचित्रकर्मीकालागि दुर्घटना बिमा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरिसकेको संघका महासचिव रमेश तिवारीले जानकारी दिनु भयो । साथै उहाँले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै संघले कोभिडको बिषम परिस्थितिमा चलचित्रकर्मीलाई स्वास्थ्य सामाग्री तथा खाद्यय सामाग्री पनि प्रदान गरिएको बताउनु भयो । चलचित्रकर्मी संघले प्रदेश १ सरकारको सहयोगमा कोरोना विरुद्वको खोपको समेत व्यवस्था गरेको थियो । संघले एम्वुलेन्स खरिदको लागि देश विदेशमा रहेका दाताहरुसंग सहयोगको अपिलसमेत गरेको छ ।
संघका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य चौतारी झापाका तथा संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ,होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेल, नेपाल चलचित्रकर्मी संघकी सल्लाहकार भगवती ढुङ्गेल,उपाध्यक्ष किशोर सम्वाहाम्फे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी, संघका सल्लाहकार मातृका प्रसाद संग्रौलालगायतको उपस्थिति रहेको थियो । संघका सचिव शुन्दर लाओतीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।





