नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै


२५ आश्विन २०७८, सोमबार ११:०९ मा प्रकाशित

झापा, असोज २५ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतम बताउनु हुन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here