झापा, असोज २२ । आज नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणी देवीलाई दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।
देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ ।
सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।
यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ। यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ।





