झापा, भदौ १४। आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।
आज देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन पनि रहेको छ ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेको थियो । तर, कोभिड- १९ का कारण शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।
कृष्ण जन्माष्टमीको अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।





