काठमाडौं भदौ १३ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।गएराति भएको खेलमा रियल बेटिसलाई १–०ले हराउँदै मड्रिड तालिकाको शीर्षमा स्थान उक्लिएको हो ।
खेलको ६१ औं मिनेटमा मड्रिडका डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए। जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन्। पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ।
गएराति भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १–० तथा रियल सोसिडाडले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरे। इल्चे र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।





