बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार जना महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ ।
आगामी ६ भाद्रदेखि ११ गतेसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर रोगको विशेष जाँच गर्ने तयारी गरेको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले महिलाहरुले बढी रोग लुकाएर राख्ने गरेका कारण उनीहरुका लागि निःशुल्क ओपिडी सेवा दिन लागिएको बताउनु भयो ।
यस्तै ओपिडीमा सतप्रतिशत छुटका साथै अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिने तयारी गरिएको अस्पतालका म्यानेजर निराजन प्रसाई जानकारी दिनु भयो ।उहाँले एक हप्तामा १० हजार जना महिलाको पाठेघरको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको बताउनु भयो ।
नेपालमा नै सुविधासम्पन्न मानिएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि व्यवस्थापनले भर्खरै नेपालका चर्चित सर्जिकल अंकोलोजोष्टि डा. मुक्ति देवकोटा र रिकन्ट्रक्टीभ क्यान्सर सर्जन डा.बजरंगकुमार शाहलाई भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनु भयो ।
गरिव तथा विपन्न वर्गलाई लक्षित गर्दै बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले ३ सय घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पनि जनाइएको छ ।





