झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको तीन करोड रुपैयाँ फ्रिज भएको छ ।
कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई संघीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो ।
आइसियु,भेन्टिलेटर,अक्सिजन प्लान्ट स्थापनालगायतका लागि संघीय सरकारबाट आएको नौ करोड मध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनु भयो ।मेची अस्पतालमा संघीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।
जेठ अन्तिममा रकम आएको र १५ दिने म्याद राखेर बोलपत्र आह्वान गरेकाकारण एउटा फर्मले बोलपत्र हालेपनि त्यसमा पनि काम सम्पन्न गर्न डेढदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न नसकिएको पोखरेलले बताउनु भयो ।
उता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन ।अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।
हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ ।अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताउनु भयो । नेपाल चिकित्सक संघले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उहाँले बताउनु भयो ।





