झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ९का विपन्न दलितहरुलाई बंगुरका पाठा वितरण गरीएको छ ।
सोमबार दलित जागरण अभियान केन्द्र विर्तामोडले आयोजना गरेको एक कार्यक्रमका विच नगरप्रमुख धुर्वकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गर्नु भएको हो ।विर्तामोड नगरपालिका वडा नम्बर ९को २ लाख ५० हजार आर्थिक सहयोगमा बंगुर पालन कार्यक्रम अन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरीएको वडाध्यक्ष पवित्रा पाठकले बताउनु भयो ।
नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धुर्वकुमार शिवाकोटीले वंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गर्नु भयो ।उहाँले वंगुर पालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरीएका वंगुरहरुको इन्स्युरेन्स र बिउको लागि भाले बंगुर खरिद गरिदिने पनि बताउनु भयो ।कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उदेश्य रहेको उहाँको भनाई थियो ।
दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,बिर्तामोड ९की वडाध्यक्ष पवित्रा पाठक,नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते,सचिव गोपाल लकान्द्री,सहसचिव सुमन त्रिखत्री,कार्यपालिका सदस्य संगीता शिवा,वडा नम्बर ९का वडासदस्य बालकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।
दलित जागरण अभियान केन्द्रले बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको जनाइएको छ ।





