अमेरिकी सेनालाई फिर्ता हुन तालिबान विद्रोही संगठनकोअल्टिमेटम


२१ असार २०७८, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ।

आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै एक हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो । उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ।

अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ । अमेरिकी सेना फिर्ता हुने दिन नजिकिँदै गर्दा अफगानिस्तानका कयौँ इलाका तालिबानले कब्जा गरिसकेको अधिकारीहरुले बताएका छन्।

साथै अफगान सुरक्षा बलको काँधमा सम्पूर्ण सुरक्षाको जिम्मेवारी आउँदा यसबाट निम्तिने खराब अवस्थाको आंकलन गर्दै कतिपय देशले चिन्ता व्यक्त गरेका छन् ।बीबीसीसँगको कुराकानीमा तालिबानका प्रवक्ता सुहैल शाहीनले लडाकुको माध्यमबाट अफगानिस्तान कब्जा गर्ने आफूहरुको नीति नरहेको बताएका छन्। उनले कतार सम्झौता विपरीत अमेरिकी सैनिक अफगानिस्तानमै रहे त्यसपछिको अवस्था भयावह बन्ने चेतावनी दिएका छन्।

उनले आफूहरु विदेशी सैनिकविरुद्ध रहेको भन्दै विदेशी कुटनीतिज्ञ, सामाजिक संस्था तथा कर्मचारी र दूतावासविरुद्ध कुनै गतिविधि नगर्ने पनि स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here